Logo

Oct 28 2026

Fact Check: सौर्य जहाज दुर्घटना भन्दै सामाजिक संजालमा फैलाइयो पुराना तस्बिर

Fact Check: सौर्य जहाज दुर्घटना भन्दै सामाजिक संजालमा फैलाइयो पुराना तस्बिर

  • काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको भन्दै केही तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरिएका छन् । तर, यी तस्बिरहरु सौर्य जहाज दुर्घटनाका होइनन् । 

    दाबी समीक्षा

    TV27News नामक एक्स ह्यान्डलमा जहाज दुर्घटनाग्रस्त भएको एउटा तस्बिर पोस्ट गरिएको छ । २०२४ जुलाई २४ मा पोस्ट गरिएको तस्बिरसँगै काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको जानकारी लेखिएको छ ।    

    त्यस्तै Deenaram Dholiya नामक एक्स ह्यान्डलमा जहाज दुर्घटनाको अर्को तस्बिर पोस्ट गरिएको छ । २०२४ जुलाई २४ मा पोस्ट गरिएको यो तस्बिरको क्याप्सनमा पनि सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको जानकारी देखिएको छ । यही तस्बिर र जानकारी प्रीति चौहान एक्स ह्यान्डलमा पनि पोस्ट गरिएको देखिन्छ ।

     

     

    तथ्यजाँच: जहाज दुर्घटनाका पुराना तस्बिर र वास्तविकता

    २०८१ श्रावण ९ गते काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । यही सन्दर्भमा पोस्ट गरिएका तस्बिरहरु सौर्य जहाज दुर्घटनाका हुन् त ? वास्तविकता पत्ता लगाउन हामीले सबैभन्दा पहिले गुगल लेन्समा रिभर्स इमेज सर्च तथा गुगलमा वाक्यांश सर्च गर्‍यौँ । 

    जाँचको नतिजास्वरुप फोक्स ४४ न्युज (fox44news.com) मा प्रकाशित तस्बिर र रिपोर्ट फेला पर्‍यो । २०२३ जनवरी १६ मा प्रकाशित रिपोर्टमा एपीका लागि अनिश भट्टराईले खिचेको तस्बिर उल्लेख गरिएको छ ।

    उक्त रिपोर्ट अनुसार काठमाडौँबाट पोखरा पुगेको यति एयरलाइन्सको एटिआर ७२-५०० जहाज (उडान नं. ६९१) अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

     


    पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा खिचिएइको यिनै पुरानो तस्बिरलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । त्यस्तै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भन्दै अर्को तस्बिर पनि पोस्ट गरिएको छ ।

    जाँचका क्रममा यो तस्बिर पनि पुरानो र फरक सन्दर्भको दुर्घटनासँग सम्बन्धित रहेको पाइयो । उक्त तस्बिर २०१८ मार्च १२ मा डीडब्लू (dw.com) ले समेत प्रकाशित गरेको देखिन्छ ।

    समाचार एजेन्सी एपीको तस्बिरसँगै प्रकाशित समाचार अनुसार २०१८ मार्चमा बङ्लादेशको ढाकाबाट काठमाडौँ आएको युएस-बाङ्ला एयरलाइन्सको जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । यही दुर्घटनाको तस्बिरलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग जोडिएको देखियो ।

     

    युएस-बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनाको सोही तस्बिर र समाचार इन्डियन एक्प्रेस (indianexpress.com) ले समेत प्रकाशित गरेको देखियो ।

    निष्कर्ष

    काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको भन्दै पोस्ट गरिएका तस्बिरहरु पुराना र फरक सन्दर्भका हुन् । २०१८ को युएस-बाङ्ला जहाज दुर्घटना र २०२३ को यति जहाज दुर्घटनासँग सम्बन्धित तस्बिरलाई अहिलेको सौर्य जहाज दुर्घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    नतिजा: भ्रामक । 

      


    यो पनि पढ्नुहोस्-

    Fact Check: टिकटकमा फैलिएको भिडियो सौर्य जहाज दुर्घटनाको होइन, के हो तथ्य?  

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend