माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'बालुवाटार र सिंहदरबार घेर्न आउँदैछु' भनेको दाबीसहितको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, प्रचण्डले भाषण गरिरहेको भिडियो वर्तमान समयको होइन ।
दाबी समीक्षा
SURESH_DHAMI_SANGAM नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रचण्डले भाषण गरिरहेका छन् । २०२४ जुलाई २९ मा पोस्ट गरिएको भिडियोमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'बालुवाटार र सिंहदरबार घेर्न आउँदैछु' भन्दै चेतावनी दिएको दाबी गरिएको छ ।
भिडियोमा लेखिएको छ- ‘प्रचण्डले चुनौती दियो ओलीलाई । बालुवाटार र सिंहदरबार घेर्न आउँदैछु भन्दै गर्जिएर फेरि पुरानो प्रचण्ड हुन बाध्य नगराउनुस् ओली । मैले फेरि हतियार उठाउन नपरोस् ।’

तथ्यजाँच: प्रचण्ड पुरानो भाषण
प्रधानमन्त्रीबाट हटाइएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'बालुवाटार र सिंहदरबार घेर्न आउँदैछु' भनेका हुन् त? दाबीसहित पोस्ट गरिएको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच सुरु गर्यौँ । जाँचका क्रममा हामीले ‘प्रचण्ड’ ‘बालुवाटर र सिंहदरबार घेर्ने’ लगायतका वाक्यांशलाई गुगल सर्च गर्यौँ ।
यही क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाषणसँग सम्बन्धित पुराना समाचार फेला परे । २०७७ माघ २८ गते नागरिक न्युज (nagariknews.nagariknetwork.com) र पहिलोपोस्ट (pahilopost.com) मा प्रकाशित समाचारहरुमा प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएको जानकारी दिइएको छ ।

२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहले विरोध गरेको थियो ।
सोही क्रममा २०७७ माघ २८ गते काठमाडौँमा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले ‘जरुरी पर्यो भने बालुवाटार र सिंहदरबार घेर्ने’ चेतावनी दिएका थिए ।
त्यो सम्बोधनका क्रममा प्रचण्डले भनेका थिए- ‘केपी ओलीजीले अस्ती भन्नुभयो, जुलुस कस्तो हुन्छ हामी देखाउँछौँ, सभा कस्तो हुन्छ हामी देखाउँछौँ । केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देख्नुभयो विरोध कस्तो हुन्छ, प्रदर्शन कस्तो हुन्छ ? तपाईं अझैपनि यो लाखौं जनताको यो उपस्थिति र यो विरोध, यो आक्रोश, आवेग र पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौति दिन्छु । हेर्नुहोला केहीदिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउनेछन्, अझ ठूलो उपस्थितिको साथ ।
…त्यसकारण जरुरी पर्यो भने सिंहदबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौँ ।' प्रचण्डको सोही भाषणको भिडियो Khabarhub नामक युट्युब च्यानलमा पनि पोस्ट गरिएको छ । २०२१ फेब्रुअरी १० मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- वालुवाटार र सिंहदरबार घेर्न लाखौं जनता काठमाडौं ल्याउँछौं– प्रचण्ड । हे. भिडियो

निष्कर्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'बालुवाटार र सिंहदरबार घेर्न’ चेतावनी दिएको भाषणको भिडियो पुरानो रहेको तथ्य प्रमाणहरुले देखाएका छन् । २०७७ सालमा खिचिएको भिडियोलाई वर्तमान समयमा पोस्ट गरिएको देखियो । पुरानो र फरक राजनीतिक परिस्थितिको भाषणलाई वर्तमान समयमा सन्दर्भ नखुलाई पोस्ट गर्दा भ्रामक सन्देश गएको छ ।
नतिजा: भ्रामक ।