न्युरोडमा बालेन शाह र वडाध्यक्षबीच हानाहान भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो भिडियो काठमाडौँ महानगरमा देखिएको समस्यासँग सम्बन्धित र मिल्दोजुल्दो छैन ।
दाबी समीक्षा
Ramesh Gautam नामक फेसबुक आइडीमा पोस्ट गरिएको छोटो भिडियो (रिल) मा सडकमा मानिसहरु उत्रिएको देख्न सकिन्छ । २०२४ जुलाई २० मा पोस्ट गरिएको भिडियोमा एउटा गाडीलाई मानिहरुले आक्रमण गर्ने प्रयास गरेका छन् । साथै उक्त गाडीले मानिसहरुलाई ठक्कर दिँदै दौडिएको छ ।
सडकमा झडप भएको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ । यो भिडियोको थमनेलमा लेखिएको छ- ‘न्युरोडमा बालेन शाह र वडाध्यक्षबीच हानाहान’ । अर्कोतर्फ भिडियोको क्याप्सनमा यो दृश्य नेपालको होइन भन्दै नेपालको न्युरोडसँग मेल खाएको दाबी गरिएको छ । तर, झट्ट हेर्दा भिडियोको क्याप्सन सबैभन्दा पहिले देख्न सकिन्छ ।

भिडियोको कहाँको हो ? यसको मूल सन्दर्भ के हो ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: भिडियो बंगलादेशको हो, काठमाडौँसँग सम्बन्धित छैन
काठमाडौँस्थित न्युरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा केही समयदेखि विवाद भइरहेको छ । विवादकै बिच विरोध प्रदर्शनहरु पनि भएका छन् । यही क्रममा २०८१ साउन ४ गते केही स्थानीयहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको पुत्ला जलाएका थिए ।
आन्दोलनमा उत्रिएका स्थानीयले मेयर बालेन शाहको पुत्ला जलाएको सन्दर्भमा दाबीसहितको भिडियो पोस्ट गरिएको देखिन्छ । भिडियोको वास्तविक सन्दर्भ जाँचका क्रममा हामीले गुगल लेन्सको सहायता लियौँ । भिडियोबाट केही स्क्रिनसट लिएर गुगल रिभर्भ इमेज सर्च गर्दा बंगलादेशको आन्दोलनसँग सम्बन्धित केही नतिजाहरु फेला परे ।

बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा आन्दोलन भइरहेको छ । यो आन्दोलन पछिल्लो समय झनै हिंसात्मक बन्दै गएको समाचार अन्तर्राष्ट्रिय संचार माध्यमले प्रकाशित गरेका छन् । आन्दोलन चलिरहेकै सन्दर्भमा अलजजीरा (Al Jazeera English) ले आफ्नो युट्युब च्यानलमा भिडियो रिपोर्ट पोस्ट गरेको भेटियो ।
२०२४ जुलाई १९ मा पोस्ट गरिएको भिडियोमा बंगलादेश आन्दोलन झनै हिंसात्मक बनिरहेको जानकारी दिइएको छ । साथै भिडियो रिपोर्टमा प्रहरीको एउटा गाडीलाई आन्दोलनकारीले लखेटेको दृश्यसमेत जोडिएको छ । हे. भिडियो

अलजजीराले भिडियोको स्रोतका रुपमा Private University Students Alliance of Bangladesh नामक फेसबुक पेजलाई उल्लेख गरेको छ । हामीले उक्त पेजलाई जाँच गर्दा २०२४ जुलाई १८ मा पोस्ट गरिएको भिडियो फेला पर्यो । हे. भिडियो

फेला परेको भिडियो र ‘न्युरोडमा बालेन शाह- वडाध्यक्षबीच हानाहान’ भन्दै पोस्ट गरिएको भिडियोमा समानता छ । बंगलादेशमा भइरहेको आन्दोलनको भिडियोलाई जबरजस्ती काठमाडौँ महानगरको समस्यासँग जोड्न खोजिएको प्रस्तुत तथ्यहरुले प्रमाणित गर्छन् ।
निष्कर्ष
‘न्युरोडमा बालेन शाह र वडाध्यक्षबीच हानाहान’ लेखेर पोस्ट गरिएको भिडियो बंगलादेशको सडक आन्दोलनसँग सम्बन्धित छ । अस्पष्ट र फरक सन्दर्भको जानकारी जोडेर सामाजिक संजालमा फैलाइएको भिडियो काठमाडौँ महानगरमा देखिएको समस्यासँग सम्बन्धित र मिल्दोजुल्दो छैन ।
नतिजा: भ्रामक ।