प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य देखिएको एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो तस्बिर वास्तविक भनई बिगारेर पोस्ट गरिएको हाम्रो तथ्यजाँचले प्रमाणित गरेको छ ।
दाबी समीक्षा
Bikram Xettri नामक टिकटक प्रयोगकर्ताले केपी शर्मा ओलीको फेसबुक पेजको स्क्रिनसट जस्तै देखिने सामग्री पोस्ट गरेका छन् । उक्त पेजमा लेखिएको छ- ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ। शुभ रात्रि !’
यो पोस्टमा केपी शर्मा ओली र राधिका शाक्यको एउटा तस्बिर समेत देखिन्छ । तस्बिरमा राधिका शाक्यले ‘क्याप्री प्यान्ट’ जस्तो देखिने पहिरन लगाएको समेत देख्न सकिन्छ । सोही तस्बिर केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको र उक्त तस्बिरमा मेयर बालेन शाहले प्रतिक्रिया दिएको जसरी प्रस्तुत गरिएको छ ।

के केपी शर्मा ओलीको वास्तविक फेसबुक पोस्ट यही हो त ? तस्बिरको वास्तविकता जाँच्नका लागि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: बिगारेर पोस्ट गरिएको तस्बिरको वास्तविकता
तस्बिरको जाँचका लागि हामीले केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज (K P Sharma Oli) मा पोस्ट गरिएको तस्बिरहरु नियाल्न थाल्यौँ । यही क्रममा २०२४ जुन ३ मा पोस्ट गरिएको तस्बिर फेला पर्यो, जसमा केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य देखिएकी छन् ।
तस्बिरसँगै क्याप्सनमा लेखिएको छ- ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुभ रात्रि !’

माथि उल्लेखित दाबीसहितको सामग्रीमा देखिएको क्याप्सन र केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा भेटिएको क्याप्सन हुबहु छन् । तर, तस्बिरमा भने भिन्नता देखिन्छ । केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा तस्बिरसहितको क्याप्सन पोस्ट गर्दा संचार माध्यममा चर्चासमेत भएको देखिन्छ ।
ओलीले पत्नी राधिका शाक्यसहित राखेको स्ट्याटसमा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले ‘गुड नाइट केपी बा’ भन्दै कमेन्ट लेखेको समाचार २०८१ जेठ २१ गते नेपाल प्रेस (nepalpress.com)मा प्रकाशित भएको पाइयो ।

उक्त समाचार अनुसार ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर स्टाटस लेखेकै मेयर शाहले ओलीको स्ट्याटसमा कमेन्ट गरेका थिए । यही सन्दर्भको समाचार टेकपानाले (techpana.com) ले पनि प्रकाशित गरेको देखिन्छ । सामाजिक संजालमा भएको उक्त क्रिया-प्रतिक्रियाको सन्दर्भ त्यो समय चर्चा विषय बनेको पाइयो ।
यद्यपी, केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको तस्बिर र वर्तमान समयमा टिकटकमा फलाइएको तस्बिरबीच भिन्नता छ । फेसबुकमा पोस्ट गरिएको तस्बिरलाई बिगारेर खुट्टातिरको भागमा तोडमोडगरी पोस्ट गरिएको पाइयो ।
निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य देखिएको तस्बिरलाई बिगारेर पोस्ट गरिएको छ । वास्तविक तस्बिरमा छेडखानी गरी सम्पादीत तस्बिरलाई सामाजिक संजालमा फैलाउन खोजिएको छ ।
नतिजा: भ्रामक