पहिरो गएको एउटा भिडियोलाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, भिडियोमा देखिएको पहिरो नेपालसँग सम्बन्धित छैन ।
दाबी समीक्षा
Rakesh Mandal नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा पहाडी क्षेत्रका सडकहरु पहिरोले बगाएको दृश्य जोडिएको छ । २०२४ अगस्ट ७ मा पोस्ट गरिएको भिडियोमा लेखिएको छ- ‘के हुँदैछ हाम्रो नेपालमा ।’

के दाबीसहित पोस्ट गरिएको भिडियो नेपालसँग सम्बन्धित छ त? भिडियोमा देखिएको घटनाको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
तथ्यजाँच: पहिरो गएको भिडियो नेपालको होइन, चीनको हो
भिडियोको जाँचका क्रममा हामीले केही स्क्रिनसट लिएर गुगल रिभर्भ इमेज सर्च गर्यौँ । जसको नतिजास्वरुप इओएस ओआरजी (eos.org) मा प्रकाशित ब्लग फेला पर्यो । २०२४ जुलाई १७ मा चीनको जिगुईमा गएको पहिरोको भिडियो सामाजिक संजालमा व्यापक फैलिएको जानकारी उक्त ब्लगमा दिइएको छ ।

ब्लगमा उल्लेख गरिएका भिडियोहरु र नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको दृश्यमा केही समानता देख्न सकिन्छ । यही आधारमा हामीले ‘Landslide Zigui County, China 17 July 2024’ वाक्यांशलाई गुगलमा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप एनटीडीटीभी डटकम (ntdtv.com) वेबसाइटमा प्रकाशित समाचार फेला पर्यो । चिनियाँ भाषामा प्रकाशित समाचारलाई गुगल ट्रान्सलेटबाट अंग्रेजी भाषामा अनुवाद गर्दा यस्तो देखियो-
२०२४ जुलाई १८ मा प्रकाशित समाचारमा उल्लेख गरिएको तस्बिर र नेपालसँग जोड्दै पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ । समाचार अनुसार २०२४ जुलाई १७ मा चीनको हुबेई प्रान्तस्थित जिगुई काउन्टीमा ठुलो पहिरो गएको थियो ।
उक्त पहिरोले १२ सय मिटर सडक (उगाओ रोड)मा क्षति पुगेको हो । चीनको जिगुइ काउन्टीमा गएको पहिरोको भिडियो Epoch TV中文站 नामक एक्स खातामा पोस्ट गरिएको छ ।
नेपालसँग जोड्दै पोस्ट गरिएको पहिरोको भिडियो चीनको हुबेई प्रान्तस्थित जिगुई काउन्टीको घटना रहेको तथ्य प्रमाणहरुले पुष्टि गरेका छन् ।
निष्कर्ष
‘के हुँदैछ हाम्रो नेपालमा’ लेखेर पोस्ट गरिएको भिडियो नेपालको घटना होइन । २०२४ जुलाई १७ मा चीनको हुबेई प्रान्तस्थित जिगुई काउन्टीमा गएको पहिरोको भिडियोलाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक