पोखराबाट काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटनाग्रस्त भएको जानकारी सहित एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, उक्त तस्बिरसँग जोडिएको जानकारीले भ्रामक सन्देश दिएको छ ।
दाबी समीक्षा
चन्द्रकला नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा बस खोलामा खसेको तस्बिर देख्न सकिन्छ । २२ अगस्ट २०२४ मा पोस्ट गरिएको तस्बिरसँगै लेखिएको छ- ‘पोखरादेखि काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटना, ८ को मृत्यु १७ घाइतेको उद्दार ।’

दाबीसहित पोस्ट गरिएको तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
तथ्यजाँच: पुरानो दुर्घटनाको तस्बिरलाई भ्रामक पारियो
तस्बिरको जाँचका क्रममा हामीले तस्बिरलाई गुगल लेन्समा रिभर्भ इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप काठमाडौँ पोस्ट (kathmandupost.com) मा प्रकाशित समाचार फेला पर्यो ।
२०२३ अगस्ट ३ मा पोस्ट गरिएको समाचारमा काठमाडौँबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । प्रस्तुत समाचारमा उल्लेख गरिएको तस्बिर र हालसालै दुर्घटनाको जानकारी सहित सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर हुबहु छ ।

काठमाडौँ पोस्टमा प्रकाशित पुरानो दुर्घटनाको समाचार र तस्बिर ।
थप जाँचका क्रममा इकान्तिपुर (ekantipur.com)मा प्रकाशित समाचार फेला पर्यो । २०८० भाद्र ६ मा प्रकाशित समाचारमा पनि सोही तस्बिर उल्लेख गरिएको छ ।
समाचार अनुसार काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीनजिकै त्रिशूली नदीमा खसेको थियो । फेला परेका तथ्यहरुले पुरानो घटनाको तस्बिरलाई फरक जानकारीसँग जोड्दै सामाजिक संजालमा पोस्ट देखाएको छ ।

इकान्तिपुरमामा प्रकाशित पुरानो दुर्घटनाको समाचार र तस्बिर ।[/caption] अर्कोतर्फ केही दिनअघि पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेको थियो ।
२०८१ भदौ ७ मा भएको उक्त भारतीय यात्रुको बस दुर्घटना सामाजिक संजालमा फैलाइएको तस्बिर र जानकारीसँग सम्बन्धित छैन ।
निष्कर्ष
पोखराबाट काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटनाग्रस्त भएको जानकारी सहित एउटा तस्बिर फरक दुर्घटनाको हो । २०८० भाद्र ६ मा संचार माध्यमले प्रकाशित गरेको दुर्घटनाको तस्बिरलाई तोडमोड गरिएको जानकारीसँग पोड्दै पोस्ट गरिएको देखियो ।
नतिजा: भ्रामक