राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल पक्राउ परेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो तथ्यजाँच गर्दासम्म सांसद ढकाललाई कुनैपनि अभियोगमा पक्राउ गरिएको छैन ।
दाबी समीक्षा
mr.dipak offical नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रतिनिधि सभा सदस्य हरि ढकालको तस्बिर देख्न सकिन्छ । २०२४ अगस्ट २८ मा पोस्ट गरिएको उक्त तस्बिरमा लेखिएको छ- ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो-हल्ला गरेको अभियोगमा पक्राउ ।’ तर, तस्बिरको क्याप्सनमा भने उल्लेखित दाबीलाई अलि फरक तरिकाले प्रस्तुत गरिएको छ । तस्बिरसहितको सामग्रीलाई झट्ट हेर्दा सांसद हरि ढकाल पक्राउ परेको भन्ने बुझिन्छ ।

के सांसद हरि ढकाल पक्राउ परेका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: हरि ढकाल पक्राउ परेका छैनन्, पक्राउ परेकालाई रिहा गर्न माग गरेका छन्
जाँचका क्रममा हामीले सांसद हरि ढकालसँग सम्बन्धित पछिल्ला जानकारीहरु खोज्यौँ । पछिल्ला दिनहरुमा प्रतिनिधि सभाको बैठक चलिरहेका छन् । संसद्का बैठकहरु नियाल्ने क्रममा सांसद ढकालले २०८१ भदौ १२ गते संसद्लाई सम्बोधन गरेको पाइयो ।

सोही दिन सांसद हरि ढकाल पक्राउ परेको दाबी सहितको सामग्री सामाजिक संजालमा पोस्ट गरेको देखिन्छ । संसद्मा सम्बोधन गर्दै सांसद हरि ढकालले गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका थिए । २०८१ भदौ १२ गते टुँडिखेलस्थित गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा रहेको जानकारी संचार माध्यममा पक्राशित भएको छ ।

अर्कोतर्फ सांसद हरि ढकाललाई भने प्रहरीले पक्राउ गरेको छैन । दाबीको जाँचका क्रममा हामीले नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीलाई फोन सम्पर्क गर्यौँ । उनले सांसद हरि ढकाललाई पक्राउ गरिएको भन्ने दाबी भ्रामक रहेको पुष्टि गरे ।
निष्कर्ष
गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो-हल्ला गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल पक्राउ परेको भन्ने दाबी भ्रामक छ । सांसद ढकालले कार्यक्रममा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका हुन् तर पक्राउ परेका होइनन् । नतिजा: भ्रामक