राजसंस्था पुनर्स्थापनाकाे पक्षमा जनसागर निस्किएको भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो भिडियो कुनैपनि राजनीतिक प्रदर्शनको होइन, हाम्रो तथ्यजाँचले उक्त भिडियो लामो दौड प्रतियोगितासँग सम्बन्धित रहेको तथ्य खुलाएको छ ।
दाबी समीक्षा
Uttam Rai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मानिसहरु सडकमा उत्रिएको दृश्य जोडिएको छ । साथै भिडियोमा मानिसहरु हो-हल्ला गर्दै अगाडितर्फ दौडिएकको देख्न सकिन्छ । उक्त भिडियोमा लेखिएको छ- ‘राजा आउ, देश बचाउ भन्दै निस्किएको जनसागर ।’
प्रस्तुत भिडियोमा करिब १८ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ५ सयभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई करिब ७ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।

के भिडियोमा देखिएको दृश्य राजसंस्था पुनर्स्थापनाको मागसँग सम्बन्धित छ त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: धरान रन २०२४ को भिडियोमा भ्रामक दाबी
जाँचका क्रममा हामीले दाबी सहितको भिडियोलाई राम्ररी नियाल्यौँ । भिडियोमै एउटा गेट देख्न सकिन्छ, जसमा ‘धरान’ ‘रन’ ‘२०२४’ लगायतका शब्दहरु नेपाली र अंग्रेजी भाषामा लेखिएको पाइयो । यही आधारमा हामीले युट्युबमा ‘Dharan Run 2024’ ‘धरान रन’ लगायतका वाक्यांशको जाँच गर्यौँ ।
जाँचका क्रममा धरान रनबारे थुप्रै भिडियोहरु फेला परे । जसमध्ये Puma shakty नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो हाम्रो नजरमा पर्यो । २०२४ फेब्रुअरी २४ मा पोस्ट गरिएको शिर्षक छ- ‘newa charity 10k 12th dharan run 2024! हजारौं धावक हरुको साथमा धरान रन’ ।

जाँचका क्रममा फेला परेको भिडियो र राजसंस्था पुनर्स्थापनाकाे पक्षमा जनसागर निस्किएको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=VYUzZBeu9gs
फेला परेका तथ्यका आधारमा हामीले धरान रनको वेब साइट (dharanrun.org.np) नियाल्यौँ । वेबसाइटमा उल्लेखित विवरण अनुसार धरान रन समूह सन् २०११ मा स्थापना भएको थियो । यही गैर-लाभकारी संस्थाले धरान १०के रन नेवा च्यारिटी रन संचालन गर्ने गर्दछ । यसको उद्देश्य कुनै राजनीतिक मागलाई संम्बोधन गर्नु होइन । यस संस्थाले कोष सङ्कलन गरी अन्य परोपकारी गतिविधिहरू आयोजना गर्दछ ।
निष्कर्ष
‘राजा आउ देश बचाउ’ भन्दै सडकमा जनसागर निस्किएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोले भ्रामक सन्देश प्रवाह गरेको छ । दाबीसहित पोस्ट गरिएको भिडियो राजसंस्था पुन:स्थापनासँग सम्बन्धित छैन । २०२४ फेब्रुअरीमा आयोजित धरान रनसँग सम्बन्धित भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ । नतिजा: भ्रामक