अर्बौँ भ्रष्टाचार गरेको आरोपमा गोकुल बास्कोटा पक्राउ परेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो दाबीलाई रुजू गर्दा गोकुल बास्कोटा पक्राउ परेको दाबी गलत रहेको देखिन्छ ।
दाबी समीक्षा
Let’s viral show नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना प्रहरी अधिकृत बोलिरहेका छन् । साथै भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाको तस्बिर जोडिएको छ । २०२४ सेप्टेम्बर ७ मा पोस्ट गरिएको भिडियोमा लेखिएकाे छ- ‘गोकुल बास्कोटा अर्बौं भ्रष्टाचार गरेको आरोपमा पक्राउ ।’ के अर्बौँ भ्रष्टाचार गरेको आरोपमा गोकुल बास्कोटा पक्राउ परेका हुन् त ? दाबीसहित पोस्ट गरिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच: गोकुल बास्कोटा पक्राउ परेका छैनन्, फरक सन्दर्भको भिडियोमा गलत दाबी जोडियो
गोकुल बास्कोटा पक्राउ गरेको दाबी गरिएको भिडियोमा प्रहरीका एकजना अधिकृत बोलिरहेको दृश्य पनि जोडिएको छ । बोलिरहेका ती प्रहरी एसएसपी श्यामकृष्ण अधिकारी हुन् । यही आधारमा हामीले ‘श्यामकृष्ण अधिकारी’ नामलाई विभिन्न सामाजिक संजालमा जाँच गर्यौँ । जाँचको नतिजास्वरुप फेसबुकमा पोस्ट गरिएको एउटा पुरानो भिडियो फेला पर्यो । फेसबुकमा २०२१ सेप्टेम्बर ४ मा पोस्ट गरिएको भिडियोमा एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा बाँके प्रहरीले ‘४ किलो सुनसहित २ जना पक्राउ’ गरेको जानकारी दिइएको छ ।

फेला परेको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा केही समानता देख्न सकिन्छ । थप जाँचका क्रममा हामीले ‘४ किलो सुनसहित २ जना पक्राउ नेपालगञ्ज बाँके’ वाक्यांशलाई पुन: सर्च गर्यौँ । जाँचको नतिजास्वरुप Youthtodaynews.com फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ‘४ किलो अवैध सुन सहित २ जना पक्राउ’ परेको जानकारीसहित पोस्ट गरिएको यो भिडियो पनि तीन वर्ष पुरानो हो । २०२१ सेप्टेम्बर ३ मा पोस्ट गरिएको भिडियो र गोकुल बास्कोटा पक्राउ परेको दाबीसहित पोस्ट गरिएको दृश्यांश हुबहु मिलेका छन् ।

वास्तविक घटनाको जाँचका क्रममा हामीले नागरिक न्युज (nagariknews.nagariknetwork.com) मा प्रकाशित समाचार फेला पर्यौँ । २०७८ भदौ १८ मा प्रकाशित समाचार अनुसार त्यो बाँके प्रहरीले राँझास्थित नेपालगञ्ज विमानस्थलबाट अवैध सुनसहित दुई जना ब्यक्तिलाई पक्राउ गरेको थियो । बरामद भएको सुन र संलग्न आरोपीलाई तत्काली बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले संचार माध्यम समक्ष सार्वजनिक गरेका थिए । सोही भिडियोलाई गलत दाबीका साथ वर्तमान समयमा पोस्ट गरिएको हाम्रो तथ्यजाँचमा देखियो ।

गोकुल बास्कोटा पक्राउ परेको दाबीबारे थप जाँचका लागि हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी दानबहादुर कार्कीलाई फोनमार्फत् सम्पर्क गर्यौँ । उनले गोकुल बास्कोटा पक्राउ परेको दाबी पूर्णत: गलत परेको प्रष्ट पारे ।
निष्कर्ष
अर्बौँ भ्रष्टाचार गरेको आरोपमा गोकुल बास्कोटा पक्राउ परेको दाबी गलत छ । २०७८ भदौमा खिचिएको फरक सन्दर्भको भिडियोलाई गलत दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।