आरजु राणा देउवा नेपालको प्रधानन्यायाधीश बन्न लागेको दाबी सामाजिक संजालमा फैलाइएको छ । तर, दाबीसहितको सामग्रीलाई रुजू गर्दा प्रधानन्यायाधीश पद र परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवाबारे सामाजिक संजालमा भ्रामपूर्ण जानकारी पोस्ट गरिएको देखिन्छ ।
दाबी समीक्षा
breaking news nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केही तस्बिरसहितको थमनेल जोडिएको छ । भिडियोमा नेपालका शीर्ष नेताहरुसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपसभामुख इन्दिरा राना मगर र सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत एवं सपना प्रधान मल्लको तस्बिर पनि देख्न सकिन्छ । तस्बिरसहितको भिडियोमा लेखिएको छ-
‘आरजु राना देउवालाई प्रधानन्यायाधीश बनाउन शीर्ष तीन दल एकै ठाउँमा मिलियो । नेपाली कांग्रेस एमाले र माओवादी ।’ साथै भिडियोमा एउटा समाचार शैलीको आवाज पनि सुन्न सकिन्छ । उक्त आवाजमा भनिएको छ- ‘आरजु राना देउवालाई प्रधानन्यायाधीश बनाउन शीर्ष तीन दल एकै ठाउँमा आज मिलियो, अब चाँडै नै आरजु राणा प्रधानन्यायाधीश बन्दै…।’
के आरजु राणा देउवा नेपालको प्रधानन्यायाधीश बन्न लागेकी हुन् त ? वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: मिडिया रिपोर्ट थमनेल जोडेर भ्रामक दाबी पोस्ट गरियो
आरजु राणा देउवा वर्तमान समयमा नेपालको परराष्ट्रमन्त्री छिन् । यही समय सामाजिक संजालमा प्रधानन्यायाधीश बन्न लागेको दाबी पोस्ट गरिएको देखियो । त्यसैले सुरुवातमै हामीले नेपालको प्रधानन्यायाधीश नियुक्तिको आधार र प्रधानन्यायाधीशको योग्यताबारे संवैधानिक व्यवस्था के रहेछ भनेर जाँच गर्यौँ ।
जाँचका क्रममा नेपालको संविधानको भाग–११ लाई नियाल्यौँ, जहाँ न्यायपालिकाबारे व्यवस्था गरिएको छ । त्यसैगरी संविधानको धारा १२९ मा ‘नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता’बारे व्यवस्था गरिएको छ । यही धाराको उपधारा २ र ३ मा प्रधानन्यायाधीशको नियुक्ति र योग्यताको व्यवस्था छ । नेपालको संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुनेछ ।
अर्कोतर्फ उपधारा ३ मा लेखिएको छ- ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ ।’

प्रस्तुत संवैधानिक व्यवस्थाबाट के प्रष्ट हुन्छ भने नेपालको प्रधानन्यायाधीश बन्नका लागि आरजु राणा देउवाको योग्यता पुग्दैन । किनकि न उनी सर्वोच्च अदालतको न्यायाधीश भएकी छन्, न उनले न्यायाधीश पदमा कम्तिमा तीन वर्ष काम गरेकी छन् ।
अर्कोतर्फ दाबीसहितको भिडियोमा तस्बिरसहितको थमनेल जोडिएको छ । तर, थमनेल Yoho Television HD नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा रिपोर्टसँग सम्बन्धित छ ।
२०२४ सेप्टेम्बर १२ मा पोस्ट गरिएको भिडियो रिपोर्टमा संवैधानिक परिषद्को अंक गणित, प्रधानन्यायाधीश नियुक्ति र उपसभामुख प्रकरणबारे चर्चा र विचार प्रस्तुत गरिएको छ । तर, यो रिपोर्टमा आरजु राणा देउवा नेपालको प्रधानन्यायाधीश बन्न लागेको दाबी गरिएको छैन ।

फेला परेका प्रस्तुत तथ्यहरुले आरजु राणा देउवा नेपालको प्रधानन्यायाधीश बन्न लागेको दाबीलाई भ्रामक रहेको प्रमाणित गरेका छन् ।
निष्कर्ष
नेपालको संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीश बन्नका लागि आरजु राणा देउवाको योग्यता पुग्दैन । एउटा मिडिया रिपोर्टको थमनेल जोडेर आरजु राणा देउवा नेपालको प्रधानन्यायाधीश बन्न लागेको दाबी तयार पारिएको छ ।
नतिजा: भ्रामक