दाङको आकाशबाट हल्लिँदै गएर जहाज दुर्घटना भएको भन्दै एउटा भिडियो हालसालै सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, उक्त सामग्रीको सन्दर्भ रुजू गर्दा जहाज दुर्घटनाको पुरानो भिडियोको सन्दर्भ तोडमोड गरेर पोस्ट गरिएको देखियो ।
दाबी समीक्षा
Kishor Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाल वायुसेवा निगमको सानो जहाज दुर्घटनाग्रस्त भएको दृश्य जोडिएको छ । २०२४ सेप्टेम्बर २१ मा पोस्ट गरिएको भिडियोमा जहाज दुर्घटनाको मिति र स्थानबारे कुनै जानकारी दिइएको छैन ।
उक्त भिडियोमा लेखिएको छ- ‘दाङको आकाशबाट हल्लिँदै गएर दुर्घटना । प्लेन यस्तो अवस्थामा छ पुरै बायाँतर्फ ढल्केको देखिन्छ । मानवीय क्षति भने भएको छैन, प्लेन भने सामान्य क्षति भएको छ ।’
केही दिनअघि पोस्ट गरिएको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । आगामी दिनमा उक्त फैलावट झनै बढ्ने देखिन्छ ।

के हालसालै दाङको आकाशबाट जहाज दुर्घटना भएको हो त ? सामाजिक संजालमा फैलिरहेको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: नेपालगन्ज विमानस्थलको पुरानो दुर्घटना
जहाज दुर्घटनाग्रस्त भएको भिडियोको जाँचका लागि हामीले सुरुमा केही स्क्रिनसट लियौँ । भिडियोबाट झिकिएका स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेल सर्च गर्यौँ । जाँचको नतिजास्वरुप बीबीसी नेपाली (bbc.com/nepali) मा प्रकाशित जहाज दुर्घटनाको पुरानो समाचार फेला पर्यो ।
२०२० मार्च २८ मा प्रकाशित समाचारमा नेपाल वायु सेवा निगमको जहाज नेपालगन्ज विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भएको जानकारी दिइएको छ ।

समाचार अनुसार नाइन एन-एकेयु कलसाइनको जहाज अवतरणका क्रममा उछिट्टिएर धावनमार्ग बाहिर पुगेको थियो । फेला परेको समाचारमा उल्लेख गरिएको तस्बिर र हालसालै सामाजिक संजालमा पोस्ट गरिएको भिडियोको दृश्य एकआपसमा मिल्न गएका छन् । यही आधारमा थप जाँच गर्दा Aviation Nepali नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२०२० मार्च २८ मा पोस्ट गरिएको यो भिडियोको शिर्षकमा लेखिएको छ- ‘नमुना लिन गएको नेपाल एयरलाइन्सको Harbin Y12e CallSign 9N-AKU जहाज धावनमार्गमा 'क्र्यास-ल्यान्ड’ ।

चार वर्षअघिको प्रस्तुत जहाज दुर्घटनाको भिडियो र हालसालै सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ । यही जहाज दुर्घटनाको समाचार अनलाइन खबर (onlinekhabar.com) संचार माध्यममा पनि प्रकाशित भएको पाइयो ।
२०२० मार्चमा नेपालगन्ज विमानस्थलमा भएको जहाज दुर्घटनाको भिडियोलाई सन्दर्भ नखुलाई वर्तमान समयमा पोस्ट गरिएको देखियो ।
https://www.youtube.com/watch?v=6ZddXqv9h90
निष्कर्ष
दाङको आकाशबाट हल्लिँदै गएर जहाज दुर्घटना भएको भन्दै सामाजिक संजालमा हालसालै पोस्ट गरिएको भिडियो भ्रामक छ । नेपालगन्ज विमानस्थलमा घटेको पुरानो घटनाको भिडियोलाई वर्तमान समयमा अस्पष्ट तरिकाले पोस्ट गरिएको देखियो ।
नतिजा: भ्रामक