काठमाडौँ महानगरका मेयर बालेन शाहको फेसबुक पोस्ट जस्तै देखिने एउटा सामग्री इन्टरनेटमा फैलिरहेको छ । तर, उक्त सामग्रीलाई रुजू गर्दा बालेन शाहले पोस्ट नै नगरेको भ्रामक वाक्यांशलाई ‘नक्कली सहकारी पीडितको नयाँ माग’ भन्दै सामाजिक संजालमा फैलाउन खोजिएको देखिन्छ ।
दाबी समीक्षा
Nepse Daily नामक फेसबुक आइडीमा बालेन शाहको फेसबुक पेजको पोस्ट जस्तै देखिने एउटा स्क्रिनसट जोडिएको छ । उक्त स्क्रिनसटमा नक्कली सहकारी पीडितले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोषी देखाएर जेल नहालेसम्म सहकारीको पैसा फिर्ता नलिने माग गरेको दाबी गरिएको छ ।
स्क्रिनसटमा लेखिएको वाक्यांश यस्तो छ- ‘नक्कली सहकारी पीडितको नयाँ माग- रवि लामिछाने दोषी देखाएर र जेल नहालेसम्म हामी सहकारीको पैसा फिर्ता लिन्नौँ ।’ २०२४ सेप्टेम्बर २४ मा (एक दिनअघि) पोस्ट गरिएको स्क्रिनसट सामाजिक संजालमा फैलिनेक्रम जारी छ ।

के बालेन शाहले ‘नक्कली सहकारी पीडितको नयाँ माग’ भन्दै फेसबुक पेजमा स्ट्याटस लेखेका हुन् त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: सेप्टेम्बर ११ मा बालेन शाहको एउटा पोस्ट
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारीको बचत अपचलन गरेको आरोप लागेको छ ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गरिएको विशेष संसदीय समितिले सहकारीको बचत अपचलनमा लामिछाने पनि जिम्मेवार रहेको निष्कर्ष निकाल्दै केही समयअघि सदनमा प्रतिवेदन पेश गरेको थियो ।
यही सन्दर्भमा बालेन शाहको फेसबुक पोस्ट जस्तै देखिने सामग्री सामाजिक संजालमा फैलाउन खोजिएको छ । जसमा नक्कली सहकारी पीडितले पूरवि लामिछानेलाई दोषी देखाएर जेल नहालेसम्म सहकारीको पैसा फिर्ता नलिने माग गरेको दाबी गरिएको छ ।
उक्त स्ट्याटस सेप्टेम्बर ११ मा पोस्ट गरिएको मिति देख्न सकिन्छ । त्यसैले हामीले बालेनको आधिकारिक फेसबुक पेज Balen मा सेप्टेम्बर ११ का पोस्टहरु नियाल्यौँ । तर, सामाजिक संजालमा फैलाइएको जस्तो स्ट्याटस सेप्टेम्बर ११ मा पोस्ट भएको पाइएन ।

बालेनको आधिकारिक फेसबुक पेज Balen मा सेप्टेम्बर ११ का दिन एउटा मात्रै स्ट्याटस पोस्ट भएको देखिन्छ । उक्त पोस्ट नदीतटको मापदण्ड र अदालतको फैसलामा केन्द्रीत छ ।
बालेनले आफ्नो आधिकारिक फेसबुक पेजमा नक्कली सहकारी पीडितले रवि लामिछानेलाई दोषी देखाएर जेल नहालेसम्म सहकारीको पैसा फिर्ता नलिने माग गरेको भन्ने व्यहोरासहितको स्ट्याटस लेखेका छैनन् । तस्बिर सम्पादन गर्ने टुलबाट तोडमोड गरिएको स्क्रिनसटलाई सामाजिक संजालमा पोस्ट गरिएको छ ।
निष्कर्ष
काठमाडौँ महानगरका मेयर बालेन शाहले पोस्ट नै नगरेको ‘फेक सूचना’लाई सामाजिक संजालमा पोस्ट गरिएको छ । नक्कली सहकारी पीडितले रवि लामिछानेलाई दोषी देखाएर जेल नहालेसम्म सहकारीको पैसा फिर्ता नलिने माग गरेको दाबीलाई प्रमाणित गर्ने तथ्य फेला परेन ।