Logo

Oct 28 2026

Fact Check: के राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीविरुद्ध भाषण गरेका हुन्?

Fact Check: के राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीविरुद्ध भाषण गरेका हुन्?

  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको दाबीसहित एउटा अडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, उक्त अडियोलाई रुजू गर्दा राष्ट्रपति हुनुअघि नै रामचन्द्र पौडेलले बोलेको अडियोलाई सन्दर्भ नखुलाई वर्तमान सन्दर्भसँग जोडिएको देखियो ।

    दाबी समीक्षा

    surya subedi 9999 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर देख्न सकिन्छ ।

    तस्बिरसँगै एउटा अडियो पनि सुन्न सकिन्छ, जसमा पौडेलले भनेका छन्-  ‘केपी ओली हतास भएका छन् र हतास अभिव्यक्ति दिइरहेका छन् र जस्ता तत्वसँग पनि हातेमालो गर्न पुगेका छन् । यो भ्रष्ट तत्वहरु, प्रतिगामीहरु र अवसरवादीहरुसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता तत्वको शरणमा पुगेका छन् ।’

     

     

    त्यस्तै तस्बिरको थमनेलमा लेखिएको छ- ‘केपी ओली भ्रष्टसँग हातेमालो गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको भनाई । देउवा-ओली मिल्दा देश समृद्ध होइन, संकटको भूमरीमा भासिने छ, देश झन उथलपुथल हुने ।’

    प्रस्तुत सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । रामचन्द्र पौडेलको उक्त अडियोबाट १९ भन्दा बढी थप भिडियो पुनर्उत्पादन गरिएको देखिन्छ ।

      

     

     

    के राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएका हुन् त ? राष्ट्रपतिको आवाज जस्तै सुनिने अडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: पुरानो भाषणमा भ्रामक वाक्यांश जोडियो

    दाबीसहितको सामग्रीको जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘केपी शर्मा ओलीविरुद्ध रामचन्द्र पौडेल’ ‘अभिव्यक्ति’ लगायतका वाक्यांशको जाँच गर्‍यौँ ।

    जाँचको नतिजास्वरुप संचार माध्यममा प्रकाशित केही पुराना समाचार फेला परे ।  जसमध्ये सेतोपाटी (setopati.com) को समाचारमा हाम्रो ध्यान भयो ।  २०७९ वैशाख ६ मा प्रकाशित समाचार अनुसार तत्काली नेपाली कांग्रेसका वरिष्ठ नेता रहेका रामचन्द्र पौडेलले केपी शर्मा ओलीले हतास अभिव्यक्ति दिन थालेको आरोप लगाएका थिए ।

    फेला परेको समाचार र दाबीसहितको सामग्रीमा जोडिएको तस्बिर उस्तै देखिन्छन् । यही आधारमा हामीले सेतोपाटीमा प्रकाशित समाचार शिर्षक ‘गठबन्धनको शक्ति देखेर केपी ओली थर्थरी काँपेका छन्: रामचन्द्र पौडेल’ लाई युट्युबमा जाँच गर्‍यौँ ।

      

     

    जाँचको नतिजास्वरुप Setopati मा पोस्ट गरिएको पुरानो भिडियो फेला पर्‍यो । १९ अप्रिल २०२२ मा पोस्ट गरिएको भिडियोमा रामचन्द्र पौडेलले भाषण गरिरहेका छन् तर यो भाषण पौडेल राष्ट्रपति हुनुभन्दा अघिको हो ।

    सामाजिक संजालमा पोस्ट गरिएको अडियो र फेला परेको पुरानो भिडियोको आजाव एकआपसमा मिलेका छन् । तर, त्यो भाषणमा पौडेलले कतैपनि ‘देउवा-ओली मिल्दा देश समृद्ध होइन, संकटको भूमरीमा भासिने छ’ भन्ने अभिव्यक्ति दिएको पाइएन ।  

    २०७९ फागुनमा रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । यसको १० महिनअघि अर्थात् २०७९ वैशाखमा कांग्रेसका वरिष्ठ नेताका रुपमा पौडेलले विद्यार्थी संघको ५३औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यो सन्दर्भमा नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले सत्ता गठबन्धन बनाएका थिए भने केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) प्रतिपक्षमा थियो ।

    https://www.youtube.com/watch?v=UcouYQrsPkA

    सोही फरक राजनीतिक समिकरण र कांग्रेस नेताको हैसियतमा पौडेलले दिएको अभिव्यक्तिलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजामा पोस्ट गरिएको छ । 

    निष्कर्ष

    राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कुनैपनि अभिव्यक्ति दिएका छैनन् । पौडेल राष्ट्रपति हुनुभन्दा अघिको भाषणमा भ्रामक वाक्यांश जोडेर सन्दर्भ नखुलाई वर्तमान सन्दर्भसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।

    नतिजा: भ्रामक

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend