काठमाडौँको समाचार भन्दै बाढीले घरहरु बगाएको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ । तर, भाइरल भिडियोलाई रुजू गर्दा नेपालसँग असम्बन्धित बाढीकाे दृश्यलाई काठमाडौँसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
दाबी समीक्षा
Binitashahi16 नामकम टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा बाढीको भयानक विपद् देख्न सकिन्छ । बाढीले अग्ला घरहरुलाई नै भत्काएर बगाएको यो दृश्यलाई काठमाडौँ (केटीएम)सँग जोडिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘अहिले केटीएम (काठमाडौँको छोटो रुप) न्युज’ ।
२०२४ सेप्टेम्बर २८ मा पोस्ट गरिएको दाबीसहितको भिडियोलाई २५ हजार ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ७ सय प्रतिक्रिया आएको भिडियो करिब २६ सय पटक सेयर भइसकेको छ । पोस्ट भएको एक दिनमै द्रुत गतिमा फैलिरहेको दाबीसहितको दृश्य आगामी दिनमा झनै व्यापक रुपमा फैलिने देखिन्छ ।

के सामाजिक संजालमा भाइरल भएको भिडियो काठमाडौँको हो त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: भारतस्थित हिमाचल प्रदेशको पुरानो भिडियो
पछिल्लो केही दिनदेखि नेपालमा मनसुनजन्य बाढी, पहिरो र डुबानले विपद् निम्त्याएको छ । अविरल वर्षाका कारण नेपालस्थित काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा धनजनको क्षति भएको हाे । यही सन्दर्भमा काठमाडौँको समाचार भन्दै बाढीले घरहरु बगाएको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिला केही स्क्रिनसटहरु गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप GAIA News नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२०२३ जुलाई २४ मा पोस्ट गरिएको उक्त भिडियोको शिर्षकमा लेखिएको छ- ‘Severe Floods: House Collapse in Sainj Valley of Kullu district, India 10 07 2023’ फेला परेको भिडियो र काठमाडौँको समाचार भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ ।

फेला परेको भिडियो र जानकारीका आधारमा हामीले ‘House Collapse’ ‘Sainj Market Kullu’ ‘Sainj Flood’ लगायतका वाक्यांशको जाँच गर्यौँ । जाँचको नतिजास्वरुप sandrp.in वेबसाइटमा प्रकाशित एउटा रिपोर्ट फेला पर्यो । उक्त रिपोर्टमा दाबीसहितको भिडियोसँग मिल्दोजुल्दो तस्बिर उल्लेख गरिएको छ ।
क्याप्सन अनुसार पिन पार्वती नदीमा आएको बाढीले भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लाको सैन्ज बजारका घरहरुलाई क्षति पुर्याउँदा उक्त तस्बिर २०२३ जुलाई ९ मा खिचिएको थियो ।

थप जाँचका क्रममा Anil Khatri Vlogs नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोसमेत फेला पर्यो । २०२३ जुलाई १५ मा पोस्ट गरिएको भिडियोमा भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लाको बञ्जर उपविभाग अन्तर्गत सैन्ज नदी (पिन पार्वती नदी) मा आएको बाढीले सैन्ज बजार (२०२३ जुलाई ९) मा ठूलो क्षति पुर्याएको जानकारी दिइएको छ ।
फेला परेको यो भिडियो र काठमाडौँको समाचार भन्दै पोस्ट गरिएको दृश्यमा समानता देख्न सकिन्छ ।

निष्कर्ष
काठमाडौँको समाचार भन्दै बाढीले घरहरु बगाएको भाइरल भिडियो नेपालको कुनैपनि विपद्सँग सम्बन्धित छैन । २०२३ जुलाई ९ मा भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लाको सैन्ज बजारका बाढीले घरहरु बगाएको दृश्यलाई काठमाडौँमा निम्तिएको मनसुनजन्य बाढी, पहिरो र डुबानको विपद्सँग जोड्दै सामाजिक संजालमा फैलाइएको देखियो ।
नतिजा: भ्रामक