गाडी चलिरहेको सडकमा पहिरो गएको आपतकालीन भिडियोलाई नेपालको विपद्सँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, उक्त भिडियोलाई रुजू गर्दा इन्डोनेशिया देशसँग सम्बन्धित दृश्यलाई नेपालको अवस्था भन्दै इन्टरनेटमा फैलाइएको देखियो ।
दाबी समीक्षा
Unseen videos नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा गाडी चलिरहेको सडक देख्न सकिन्छ । उक्त सडकमा पहिरो खस्न थाल्छ र एकजना व्यक्तिले सवारीसाधनलाई अगाडि नबढ्न सचेत गराइरहेका छन् । यतिकैमा एउटा ट्याङ्कर अगाडि बढ्छ र पहिरोमा पुरिनबाट थोरै जोगिन्छ ।
प्रस्तुत दृश्य देखिने भिडियोको थमनेलमा लेखिएको छ- ‘Condition Of Nepal Right Now’ (अहिले नेपालको अवस्था) । २०२४ सेप्टेम्बर २८ पोस्ट गरिएको भिडियो सामाजिक संजालमा व्यापक फैलिएको छ ।
तीन दिनअघि मात्र पोस्ट गरिएको भिडियोमा २४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा दाबीसहितको भिडियोलाई २ हजार ८ सयभन्दा बढी पटक सेयर गरिएको छ ।
के सामाजिक संजालमा भाइरल भिडियो नेपालको हो त ? दाबीसहित पोस्ट गरिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: भिडियो नेपालको होइन, इन्डोनेशियाको हो
अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरोले नेपालका सडक मार्गहरुलाई प्रभावित बनाएको छ । गृह मन्त्रालयका अनुसार नेपालको राजधानी काठमाडौँसँग जोडिएका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
त्यस्तै दर्जनभन्दा बढी विभिन्न पुल बगेका छन् । विपद्को यही सन्दर्भमा नेपालको वर्तमान अवस्था भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । जाँचका क्रममा हामीले भिडियोका केही स्क्रिनसटहरुलाई गुगल लेन्समा इभर्स इमेज सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Tribun Sumsel नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो रिपोर्ट फेला पर्यो । २०२४ मे १७ मा पोस्ट गरिएको यो भिडियो रिपोर्टमा उल्लेखित दृश्य र नेपालको अवस्था भन्दै सामाजिक संजालमा भाइरल भएको भिडियोबीच समानता देख्न सकिन्छ ।

फेला परेको भिडियोमा इन्डोनेशियन भाषामा जानकारी दिइएको छ । उक्त जानकारीलाई नेपालीमा अनुवाद गर्दा पश्चिम सुमात्राको सिटिनजाउ लाउइकमा पहिरोबाट ट्याङ्कर जोगिएको दृश्य भाइरल भएको जानकारी दिइएको छ ।
फेला परेको जानकारीका आधारमा थप जाँच गर्दा suara.com, regional.kompas.com, padek.jawapos.com लगायतका संचार माध्यममा प्रकाशित समाचारहरु फेला परे ।
यी समाचारमा उल्लेख गरिएको तस्बिर र दाबीसहितको भिडियोमा देखिएको दृश्य एकआपसमा मेल खाएका छन् । मे २०२४ मा प्रकाशित सबै समाचारहरु इन्डोनेशियन भाषामा लेखिएको छ ।
यी समाचारलाई अंग्रेजी भाषामा अनुवाद गरेर पढ्दा इन्डोनेशियास्थित पश्चिमी सुमात्राको सिटिनजाउ लाउइकमा एउटा ट्रक पहिरोबाट जोगिएको जानकारी दिइएको पत्ता लाग्यो ।
इन्डोनेशियाको पश्चिमी सुमात्रा प्रान्तमा सिटिनजाउ लाउइक क्षेत्र पर्दछ । जटिल बनावट र भौगोलिक अवस्थाका कारण यो क्षेत्रमा पहिरो जाने र सवारी साधन दुर्घटना भइरहेका हुन्छन् । यही क्षेत्रमा गएको पहिरोको भिडियोलाई नेपालको विपद्सँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ ।
निष्कर्ष
अहिले नेपालको अवस्था भन्दै पोस्ट गरिएको भिडियो भ्रामक छ । इन्डोनेशियास्थित पश्चिमी सुमात्राको सिटिनजाउ लाउइकमा घटेको घटनाको भिडियोलाई नेपालसँग जोड्दै सामाजिक संजालमा भाइरल बनाइएको देखियो ।
नतिजा: भ्रामक