Logo

Oct 28 2026

Fact Check: प्रचण्डलाई साथ दिन बालेनले सबैलाई अपील गरेका हुन्?

Fact Check: प्रचण्डलाई साथ दिन बालेनले सबैलाई अपील गरेका हुन्?

  • पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरका मेयर बालेन शाहसँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा मेयर बालेनले प्रचण्डलाई साथ दिन सबैलाई अपील गरेको दाबी गरिएको छ ।

    दाबी समीक्षा

    subedi sun9999 नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा  प्रचण्ड र बालेनलाई देख्न सकिन्छ । प्रस्तुत तस्बिरको थमनेलमा लेखिएको छ- ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन भन्छन्- प्रचण्डलाई अब सबैले साथ दिनुपर्छ, अहिलेको अवस्थामा प्रचण्ड प्रचण्ड नै रहेछन् ।’ प्रस्तुत दाबीसहितको सामग्रीमा ३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । 

     

     

    के मेयर बालेनले प्रचण्डलाई सबैले साथ दिनुपर्ने अपील गरेका हुन् त ? दाबीसहित पोस्ट गरिएको तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: पुरानो तस्बिर, भ्रामक दाबी 

    सबैभन्दा पहिला हामीले पुष्पकमल दाहाल प्रचण्ड र मेयर बालेन शाह देखिएको तस्बिरको जाँच गर्‍यौँ । यसका लागि तस्बिरको स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप राइजिङ नेपाल डेली (risingnepaldaily.com) मा प्रकाशित तस्बिरसहितको समाचार फेला पर्‍यो ।

    २०२२ जुन ४ मा प्रकाशित उक्त समाचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेको जानकारी दिइएको छ ।  त्यस्तै अनलाइन खबर (onlinekhabar.com) मा पनि उस्तै तस्बिर र जानकारीसहितको समाचार फेला पर्‍यो ।

    २०७९ जेठ २१ मा प्रकाशित समाचार अनुसार काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा निर्वाचित भइसकेपछि बालेनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका थिए । त्यसपछि उनले पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर उनलाई भेटेका हुन् । 

     

     

    सोही पुरानो सन्दर्भको तस्बिरलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । अर्कोतर्फ मेयर बालेनले प्रचण्डलाई सबैले साथ दिनुपर्ने अपील कुनैपनि माध्यमबाट गरेका छैनन् । उनले कुनैपनि कार्यक्रम वा सामाजिक संजालबाट यस्तो अपील गरेको कुरा कुनैपनि तथ्यहरुबाट प्रमाणित भएन । 

    निष्कर्ष

    मेयर बालेनले प्रचण्डलाई सबैले साथ दिनुपर्ने अपील गरेका छैनन् । पुष्पकमल दाहाल प्रचण्ड र मेयर बालेन शाहको पुरानो तथा फरक सन्दर्भको तस्बिरलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको छ ।

    नतिजा: भ्रामक

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend