Logo

Oct 29 2026

Fact Check: के रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री ओलीले पोखरा पुगेर देउसी खेलेका हुन् ?

Fact Check: के रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री ओलीले पोखरा पुगेर देउसी खेलेका हुन् ?

  • रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेर देउसी खेलेको दाबी गरिएको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, दाबी र भिडियोलाई रुजू गर्दा फरक सन्दर्भको पुरानो र असम्बन्धित दृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली नाम जोडेर पोस्ट गरिएको देखियो ।

    दाबी समीक्षा

    Bhanu नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु नाचेको दृश्य जोडिएको छ ।

    उक्त भिडियोमा प्रकाश सपुत गीत गाइरहेको देखिएको देखिन्छन् तर उनले गाएको गीतलाई मेटाएर तिहारको देउसी गीत जोडिएको छ । 

    २०२४ अक्टोबर २९  (आज) मा पोस्ट गरिएको भिडियोमा रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेर देउसी खेलेको दाबी गरिएको छ । प्रस्तुत भिडियोमा लेखिएको छ- ‘रवि लामिछानेलाई पक्राउ गरी पोखरा लगेपछि पोखरामै गएर देउसी खेले केपीले’ ।

     

     

     

    के रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री ओली पोखरा पुगेर देउसी खेल्दै नाचेका हुन् ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: पुरानो भिडियोमा गलत जानकारी जोडियो

    २०८१ कात्तिक २ गते नेपाल प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ ।

    लामिछानेलाई सहकारी ऐनद्वारा परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको लागि प्रहरीले काठमाडौँस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरेको हो । कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।

    लामिछाने पक्राउ परेको सन्दर्भमा केपी शर्मा ओली पोखरा पुगेर देउसी खेलेको भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । भिडियोको जाँचका क्रममा हामीले ‘प्रकाश सपुत गीत’ ‘प्रचण्ड’ ‘नेता’ ‘नाच’ लगायतका वाक्यांश सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप Setopati युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो ।

    २०२४ मार्च १७ मा पोस्ट गरिएको भिडियोमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रकाश सपुतको गीतमा छमछमी नाचेको जानकारी दिइएको छ ।

    फेला परेको भिडियो र सामाजिक संजालमा फैलाइएको दाबीसहितको भिडियोमा समानता देख्न सकिन्छ । तर, यो भिडियोमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देखिएका छैनन् ।    

     

     

    फेला परेको जानकारीका आधारमा हामीले थप जाँच गर्‍यौँ । ‘प्रकाश सपुतको गीतमा प्रचण्ड नाचे’ वाक्यांशलाई जाँच गर्दा गोरखापत्र अनलाइन (gorkhapatraonline.com) लगायतका संचार माध्यममा प्रकाशित समाचार फेला परे ।

    २०८० चैत ४ गते प्रकाशित समाचार अनुसार प्रकाश सपुतले गाएको ‘गलबन्दी’ बोलको गीतमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु छमछमी नचेको जानकारी दिइएको छ । 

    पोखरा महानगर र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न आयोजित कार्यक्रममा गायक सपुतले प्रस्तुती दिएका थिए ।

    उक्त सांगितीक प्रस्तुतीमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायतका व्यक्तिहरु स्टेजमै नाचेका थिए ।

     

     

    सोही कार्यक्रम र नाचको समाचार अनलाइन खबर (onlinekhabar.com), नेपालभ्युज (nepalviews.com),  नेपाल प्रेस (nepalpress.com) मा पनि प्रकाशित भएको भेटियो ।

    तर, यो कार्यक्रममा केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।  फेला परेका तथ्यहरुले के प्रष्ट पारेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग असम्बन्धित भिडियोमा ओली पोखरा पुगेर देउसी खेलेको दाबी गरिएको देखिन्छ ।   

    निष्कर्ष

    रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेर देउसी खेलेको दाबी गलत छ । दाबीसहितको भिडियो रवि लामिछाने पक्राउ प्रकरण र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित छैन । पोखरामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु नाचेको पुरानो भिडियोलाई गलत जानकारीसँग जोडिएको देखिन्छ ।

    नतिजा: गलत

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend