प्रधानमन्त्रीसँग सम्बन्धित एउटा अडियोलाई ‘किड्नी डिल’ भन्दै सामाजिक संजालमा फैलाइएको छ । तर, दाबीसहितको सामग्रीलाई रुजू गर्दा केपी शर्मा ओलीले नेपाली युवाहरुसँग फोन संवाद गरेको पुरानो र फरक सन्दर्भको अडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
दाबी समीक्षा
स्वतन्त्र युवाशक्ति मन्च नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जोडिएको छ । उक्त भिडियोमा केपी शर्मा ओली र एक युवतीबीच फोन संवाद भइरहेको आवाज सुन्न सकिन्छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘अरुणाजी हेलो हेलो । New किड्नी डिल सुरु रे । Fon Cal Ok Thank you ।’
२०२४ नाेभेम्बर १९ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब १४ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ५ सयभन्दा बढी प्रतिक्रिया आएको सामग्री ५ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।
सोही अडियो सहितको सामग्री PRACHANDJR_officia नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको छ । एक साताअघि मात्रै पोस्ट गरिएको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।

के हो त ‘किड्नी डिल’ भन्दै सामाजिक संजालमा फैलाइएको अडियोको वाक्तविकता ? सत्य पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: ‘कल केपी बा’को अडियोमा जोडियो भ्रामक दाबी
फोन संवादसहित अडियो जोडिएको सामग्रीमा ‘अरुणाजी हेलो हेलो’ लेखिएको छ । यही जानकारीका आधारमा हामीले ‘अरुणा कुराकानी’ ‘KP Sharma Oli’ लगायतका वाक्यांशलाई गुगलमा जाँच गर्यौँ । जाँचको नतिजास्वरुप फेसबुकमा पोस्ट गरिएको पुरानो भिडियो फेला पर्यो ।
फेला परेको भिडियोको आवाज र ‘किड्नी डिल’ भन्दै हालसालै सामाजिक संजालमा फैलाइएको अडियो हुबहु मिल्दो छ ।
२०२२ अक्टोबर २४ मा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओलीले टेलिफोन संवाद गरिरहेको दृश्य देख्न सकिन्छ । सर्वप्रथम K P Sharma Oli फेसबुक पेजमा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘Call KP Baa: अरुणा नानीसँग रमाईलो कुराकानी ।’
‘कल केपी बा’ वाक्यांशलाई जाँच गर्दा २०७९ असोजमा प्रकाशित केही समाचारहरु फेला परे । समाचार अनुसार त्यो नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका युवा जनतासँग टेलिफोन संवाद गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।
‘कल केपी बा’ कार्यक्रममा सहभागी हुने युवाहरुले फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनुपर्ने र तोकिएको समयमा स्वयं केपी शर्मा ओलीले युवाहरुलाई फोन गर्ने गरिन्थ्यो ।
फेला परेको वास्तविक भिडियोमा ‘अरुणा’ नामक युवतीलाई फोन लगाइन्छ । केपी शर्मा ओलीकै फोन आएपछि ‘अरुणा’ नाम गरेकी युवती उत्साहित हुँदै ‘हजुरलाई मेरै आयु लागोस्’ भन्छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विगतमा दुईपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था सामान्य छ । यही सन्दर्भमा उनको स्वास्थ्य अवस्थासँग जोडेर भ्रामक सामग्री सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर र पुरानो अडियोसँगै ‘किड्नी डिल’ लेखेर पोस्ट गरिएको सामग्री भ्रामक छ । पुरानो र फरक सन्दर्भको फोन संवादमा प्रधानमन्त्रीको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई जोडेर सामाजिक संजालमा फैलाइएको देखिन्छ ।