प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘बनेपामा हातपात’ भएको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ । तर, दाबीसहित फैलाइएको भिडियोलाई रुजू गर्दा फरक सन्दर्भको र पुरानो भिडियोमा भ्रामक दाबी जोडेेर फैलाइएको देखियो ।
दाबी समीक्षा
Bishram Bohara र Milan Karki लगायतका विभिन्न फेसबुक आइडी तथा पेजमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओली देखिने भिडियो पोस्ट गरिएको छ । सोही भिडियोको क्याप्सन प्रधानमन्त्री ओलीमाथि बनेपामा हातपात भएको दाबी गरिएको देखिन्छ ।
केही घन्टाअघि मात्रै पोस्ट गरिएको एउटा भिडियोलाई १० लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् । पछिल्लो समय उक्त भिडियो र दाबी सामाजिक संजालमा भाइरल भएको छ ।
तथ्यजाँच: पुरानो भिडियोमा जोडियो भ्रामक दाबी
भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हाम्रो टीमले तथ्यजाँच गर्यो । यसका लागि ‘केपी शर्मा ओली’ ‘हातपात’ लगायतका वाक्यांश जाँच गर्दा केही पुराना समाचारहरु फेला परे ।
अनलाइन खबर (onlinekhabar.com), नेपाल लाइभ (nepallive.com), उकालो (ukaalo.com) लगायतका संचार माध्यमहरुमा प्रकाशित समाचार अनुसार २०८० मंसिरमा धनकुटा पुगेपछि केपी शर्मा ओलीमाथि दुर्व्यवहारजन्य अवरोधको प्रयास भएको थियो ।
२०८० मंसिरमा नेकपा (एमाले)ले मध्यपहाडी संकल्प यात्रा संचालन गरेको थियो । संकल्प यात्रा धनकुटा पुगेका बेला ओलीको स्वागत गर्न लाइनमा उभिएका महेश राई नामक व्यक्तिले अस्वभाविक व्यवहार देखाएका गरेका थिए ।
२०८० मंसिर २८ गते नेपाल लाइभमा प्रकाशित समाचारमा लेखिएको छ- ‘जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनका अनुसार मदिरा सेवन गरेर कार्यक्रममा गएर अवरोध गर्न खोजेपछि महेश राईलाई नियन्त्रणमा लिइएको हो ।’
सोही सन्दर्भको भिडियोलाई देशसंचार (Deshsanchar) संचार माध्यमको युट्युब च्यानलमा पनि पोस्ट गरिएको छ । २०२३ डिसेम्बर १४ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि हातपात प्रयास ।’
फेला परेका तथ्यहरुबाट पुष्टि हुन्छ भने, पुरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको छ । अर्कोतर्फ यो तथ्यजाँच गर्दैगर्दा ‘बनेपा’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित यस्तो कुनैपनि घटना घटेको छैन ।
निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘बनेपामा हातपात’ भएको भएको दाबी भ्रामक छ । २०८० मंसिरमा धनकुटामा घटेको पुरानो र फरक सन्दर्भको घटना भिडियोलाई ‘बनेपा’सँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ ।