प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रामकुमारी झाँक्रीसँग सम्बन्धित भिडियो सामाजिक संजालमा फैलिरहेको छ । तर, यो भिडियोलाई रुजू गर्दा प्रधानमन्त्री ओली र नेतृ झाँक्रीको पुरानो वास्तविक तस्बिर ‘डिपफेक’को शिकार भएको देखियो ।
दाबी समीक्षा
अलिन राई (Anil Rai) नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री रामकुमारी झाँक्रीसँग अंकमाल गरेको दृश्य देखिन्छ । २०२५ जनवरी ९ मा पोस्ट गरिएको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । साथै यो भिडियोमाथि सामाजिक संजाल प्रयोगकर्ताले नकरात्मक टिप्पणी गरेका छन् ।
पोस्ट गरिएको दुई दिनमै दाबीसहितको भिडियोलाई करिब ५० लाख फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् । यही अवधिमा १ हजार ६ सयभन्दा बढीपटक सेयर भइसकेको भिडियो विभिन्न फेसबुकसँगै अन्य सामाजिक संजालमा पनि फैलिरहेको छ ।
के प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृ रामकुमारी झाँक्रीलाई अंकमाल गरेको भिडियो वास्तविक हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: पुरानो तस्बिर, यसरी बन्यो ‘डिपफेक’
सबैभन्दा पहिले रुजू तथ्यजाँच टीमले भिडियोको जाँच गर्यो । तर, जाँचका क्रममा एआई टुलको प्रयोगबाट दृश्यहरु तोडमोड गरिएको संकेतहरु फेला परे ।
फेला परेका संकेतका आधारमा हामीले वास्तविक दृश्यको जाँचमा लाग्यौँ । यही क्रममा हामीले इन्टरनेटमा ‘केपी शर्मा ओली’ ‘रामकुमारी झाँक्री’ ‘भिडियो’ ‘फोटो’ जस्ता थुप्रै किवर्डहरुलाई पटकपटक जाँच गर्यौँ ।
यसको नतिजास्वरुप नेपालखबर (Nepalkhabar), दैनिकी (Dainiki दैनिकी) लगायतका संचार माध्यमका सामाजिक संजाल अकाउन्टमा पोस्ट गरिएका तस्बिरहरु फेला परे । केपी शर्मा ओलीको सचिवालयले संचार माध्यमलाई पठाएका यी तस्बिरहरु २०२४ अप्रिल ८ मा पोस्ट गरिएको देखियो ।
तस्बिरहरु पोस्ट गर्दै नेपालखबरले लेखेको छ- ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आइतबार एक कार्यक्रममा भलाकुसारी गर्दै। झाँक्री एमालेमा हुँदा ओलीको कट्टर आलोचकमध्ये एक थिइन्। तस्बिर : केपी ओलीको सचिवालय’
यही तस्बिर २०२४ अप्रिल ८ मा रामकुमारी झाँक्रीले पनि आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको देखियो ।
स्वयं नेतृ झाक्री र संचार माध्यमले पोस्ट गरेका पुराना तस्बिर र वर्तमान समयमा भाइरल भिडियोको आकृतिबीच समानता देख्न सकिन्छ । यसबाट के प्रष्ट हुन्छ भने भिडियोको मूल स्रोत यिनै पुराना तस्बिरहरु हुन् । तर, भिडियो वास्तविक भने होइन ।
थप जाँचका क्रममा केपी शर्मा ओली र रामकुमारी झाँक्री देखिने पुराना तस्बिरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलको प्रयोगबाट तोडमोड गरिएको देखिन्छ । एआई प्रविधिको मद्दतले तस्बिरमा मोसन जोडेर डिपफेक भिडियो तयार पारिएको देखियो ।
निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रामकुमारी झाँक्रीसँग सम्बन्धित भाइरल दृश्य वास्तविक भिडियो होइन । पुरानो तस्बिरहरुलाई दुरुपयोग गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोगमा डिपफेक भिडियो तयार पारी सामाजिक संजालमा फैलाइएको छ ।