सामाजिक सञ्जाल टिकटकमा यो भिडियो भाइरल भइरहेको छ. जसमा नेपालमा कोरोना भाइरसका कारण २२५ जनाको मृत्यु भएको दाबी गरिएको छ। तर भाइरल भिडियोलाई रुजु गर्दा गलत र भ्रामक रहेको तथ्य फेला पर्यो।
१. दाबी समीक्षा
भिडियो kushalchhetry610 username भएको टिकटक अकाउन्टबाट २०२५ जुन २ मा पोस्ट गरिएको थियो। पोस्ट गरिएको भिडियोमा एक जना महिलाको आवाज सुन्न सकिन्छ (भिडियो क्लिप)। साथै भिडियोको टेक्स्ट ओभरलेमा लेखिएको छ “कोरोना भाइरसबाट नेपालमा आजै एकै दिनमा २२५ जनाको मृत्यु भएको छ। फेरि पनि नेपालमा लकडाउन भयो? आजबाट विद्यालय कलेज सार्वजनिक संस्थाहरू बन्द हुने भएको छ।”

Archive Link
भाइरल भिडियोमा यो भिडियो तयार पार्दा सम्म ४ लाख ३ हजार भन्दा बढी भ्युज आइसकेको छ भने १६ हजार २०० भन्दा बढी लाइक आएको छ। त्यस्तै भाइरल भिडियोलाई ३ हजार ४०० भन्दा बढी पटक शेयर गरिएको छ। भिडियोबाट दर्शकमा त्रास फैलाउने प्रयास गरिएको छ?
हालसालै भारतमा फेरि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतभर हाल कोरोना संक्रमणका कारण ४ हजार ३ सय जनाभन्दा बढी बिरामी छन्।
यही सन्दर्भमा भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।। तर साँच्चै नेपालमा २२५ जनाको यति ठूलो सङ्ख्यामा मृत्यु भएको हो? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ।
२. तथ्यजाँच
हामीले यो दाबीको सत्य तथ्य पत्ता लगाउन गुगलमा “कोरोना भाइरसबाट २२५ जनाको मृत्यु, नेपालमा कलेज विद्यालय बन्द” आदि किवर्ड सर्च गरी हेर्यौँ। तर हालै यस्तो खाले समाचार वा लेख कतै प्रकाशित भएको पाइएन।
तथ्यजाँचलाई थप अध्ययन गर्ने क्रममा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट तथा प्रमुख राष्ट्रिय सञ्चार माध्यमहरूमा यस्तो जानकारी खोज्यौँ। तर नेपालमा कोरोनाभाइरसबाट मृत्यु भएको जानकारी प्राप्त भएन।
भिडियोमा एक जना महिला बोलिरहेको भिडियो समेत जोडिएको छ। भिडियो वास्तवमा कहिले र कहाँको हो भनी पत्ता लगाउन हामीले सबैभन्दा पहिला गुगलमा दाबी भिडियोलाई स्क्रिनशट गरी रिभर्स इमेज सर्च गर्यौँ। नतिजा स्वरूप एउटा युट्युब भिडियो भेटियो। उक्त समाचार पत्रकार रश्मिता उदासले नेपाल टाइम्सको रहेको तथ्य फेला पर्यो। भिडियो ११ मे २०२१ मा Nepal Times को युट्युब च्यानलमा पोस्ट गरिएको थियो।

