‘अमेरिकी वायुसेना’ नेपाल आएको दाबी गर्दै यो दृश्य टिकटकमा पोस्ट गरिएको छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी विमान अवतरण भइरहेको दृश्यसँगै एउटा अडियो जोडिएको छ । जसमा पाइलट र Air Traffic Controller बीच कुराकानी भइरहेको संवाद सुन्न सकिन्छ ।
टिकटकमा भिडियोको थमनेलमा लेखिएको छ- ‘अमेरिकाबाट नेपाल आएको अमेरिकी वायुसेना’ ।
के अमेरिकी वायुसेना नेपाल आएको हो त? दाबीसहित फैलाइएको दृश्य र अडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
सबैभन्दा पहिले हामीले दाबीसहितको अडियोको जाँच गर्यौँ । अडियोको जाँचका क्रममा Aviation&Travel नामक युट्युव च्यानलमा पोस्ट गरिएका भिडियोहरु फेला परे । यस च्यानल मनोरञ्जन र जानकारीलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । यहाँ सार्वजनिक डोमेनमा पर्ने र LiveATC.net ATC अडियोहरु पोस्ट गरिन्छ ।
यही च्यानलमा पोस्ट गरिएका केही अडियोहरुलाई ‘अमेरिकी वायुसेना’ नेपाल आएको दाबीसँग जोडिएको पाइयो ।
थप जाँचका क्रममा पछिल्लो पटक 2025 Nov, दोस्रो हप्ता US Air Force Boeing C-17 Globemaster III जहाज काठमाडौँ एयरपोर्टमा आएको देखिन्छ । यही सन्दर्भमा जाँच गर्दा Fly Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२०२५ नोभेम्बरमा US Air Force को C-17 Globemaster III विमान काठमाडौँमा अवतरण गरेको थियो । यो घटना २०२५ नोभेम्बर ९-१० मा भएको पुष्टि भएको छ । विमान किर्गिस्तानबाट आएको थियो । यो विमान अमेरिकी वायुसेनाको सैन्य कार्गो (ढुवानी) विमान हो, जसले सामान, सैन्य सामग्री वा सहायता ढुवानी गर्छ।
Fly Nepal नामक युट्युब च्यानल र अन्य सोसल मिडिया मा यो विमानको ल्यान्डिङ र टेकअफको भिडियोहरू उपलब्ध छन् । Fly Nepal ले यो विमानलाई हिमाली दृश्यसँगै देखाइएको छ, र यसलाई नियमित प्लेन स्पटिङ (विमान अवलोकन) को रूपमा प्रस्तुत गरिएको छ ।
यो घटनाले नेपालको राजनीतिक अस्थिरताको सन्दर्भमा सोसल मिडियामा चर्चा पाएको थियो, किनकि नेपालमा त्यतिबेला राजनीतिक घटनाक्रमहरू चलिरहेका थिए । तर यो विमानको आगमनलाई कुनै ठूलो सैन्य अभियान वा आक्रमणसँग जोड्ने प्रमाण फेला परेन ।
यही दृश्यलाई ‘अमेरिकी वायुसेना’ नेपाल आएको दाबी र अडियोसँग जोडेर टिकटक पोस्ट गरिएको पाइयो । नेपालमा भइरहेको राजनीतिक अस्थितरताकै बीच काठमाडौँमा अमेरिकी सैन्य जहाज अवतरण गर्नुले सामाजिक संजालमा चर्चा पाएको थियो । तर, US Air Force Boeing C-17 Globemaster III जहाज काठमाडौँ एयरपोर्टमा अवतरण हुनु र ‘अमेरिकी वायुसेना’ नेपाल आयो भन्नु उस्तै हो त?
यसमा दुईवटा भिन्नता देखिन्छ । पहिलो, कुनै अमेरिकी सैन्य विमान (USAF aircraft) नेपाल अवतरण गर्नु ।
र दोस्रो ‘अमेरिकी वायुसेना नेपाल आयो’ भनेर दाबी गर्नु ।
यी दुई कुरा उस्तै होइनन्। C-17 जस्ता जहाजहरू प्रायः मानवीय सहायता, लजिस्टिक सपोर्ट, ट्रान्जिट, तालिम, वा कूटनीतिक/अनुमतिप्राप्त भ्रमणका लागि विभिन्न देशका विमानस्थलमा अवतरण गर्छन् । यसलाई अमेरिकी वायुसेनाको सैन्य तैनाथी वा आगमन भनेर प्रस्तुत गर्नु गलत व्याख्या हो ।